काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैं पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे ।
उनले गत संसदीय निर्वाचनमा एमालेका विरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर पार्टी सक्काउन खोजेको तर अब परिस्थिति त्यस्तो नहुने बताए ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले चलाएका जरा अभियानलाई प्रभावकारी बनाएर जनताको घरघरमा जान ओलीले आग्रह गरे । उनले पार्टीका विरोधी शक्ति पर्याप्त भएकोले पार्टीभित्र नै एकले अर्कोलाई विरोध गर्न जरुरी नहुने बताए ।






