काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकार सात बुँदे सम्झौता अनुसार अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् ।
संसद् भवन परिसरमा सोमवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकार सात बुँदे सम्झौताको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका हुन् । संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ छ ।
उनले संविधान पुनरावलोकन गर्न समय लाग्ने भए पनि सरकार गठनको ९ महिनासम्म प्रारम्भ नगरिएको बताए । उनले संविधान पुनरावलोकन गर्न संसद्मा रहेका सबै दल र सरोकारवालालाई समेत समावेश गरेर अघि बढ्न सक्नुपर्ने बताए ।
उनले सरकारको बारेमा कांग्रेसभित्र कुनै समस्या नरहेको समेत स्पष्ट पारे । वर्तमान सरकारलाई असफल हुने छुट नभए पनि सँगै भएका दलहरूबिच पालिका स्तरसम्म संयन्त्र बनाउनु गलत रहेको उनको भनाइ छ ।






