काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–५ स्थित ऐतिहासिक सेरांग गुम्बामा प्रत्येक वर्ष वैशाख १५ (अप्रिल २८) बाट सुरु गरिने डुप्चेन पूजा यसपालि पनि भव्य रूपमा सञ्चालनमा रहेको छ ।
विश्वशान्तिको कामना गर्दै सञ्चालन हुने यो विशेष निम पूजामा ९० जना लामा सहभागी भई निरन्तर मन्त्रोच्चारण गरिरहेका छन्। कर्मा रिम्पोचेको नेतृत्वमा अघि बढाइएको यस पूजाको समापन भोलि गरिने र पर्सि विशेष नाचगानसहित समापन कार्यक्रम आयोजना गरिने गुम्बाका वरिष्ठ गुरु तेन्जिङ लामाले जानकारी दिनुभयो ।

गुम्बामा स्थायी रूपमा ८० जना भन्दा बढी लामा र आनीहरू निवास गर्दै आएका छन्। साथै, गुम्बासँग सम्बन्धित विद्यालयमा १०० भन्दा बढी विद्यार्थीहरू नियमित रूपमा अध्ययनरत छन् ।
समुद्री सतहबाट ३२०० मिटरको उचाइमा अवस्थित यो गुम्बा स्थल ७००० मिटर अग्लो श्रृंगि हिमालको काखमा रहेको छ। यहाँबाट श्रृंगि हिमाल, चमार हिमाल, लाप्चुंग चाचुंग र रानी पिकजस्ता मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।
गुम्बाका लामाहरूले वरपर पाइने हिमालयन थार लगायतका वन्यजन्तुलाई नियमित रूपमा आहार दिने परम्परा रहेको हुँदा मानिस र जनावरबीचको आत्मीय सम्बन्ध यहाँ सहजै देख्न सकिन्छ ।

बौद्ध धर्मावलम्बीहरूको लागि सेरांग गुम्बा एक प्रसिद्ध तिर्थस्थलका रूपमा चिनिन्छ। विशेष पूजाको समयमा नेपालका विभिन्न स्थानहरूका साथै भुटानबाट समेत श्रद्धालुहरू यहाँ दर्शनका लागि आउने गरेका छन्। भुटानबाट आएका नावा गाल्गेन लामाका अनुसार, यस्तो पूजा आत्मशुद्धि र विश्वशान्तिको सन्देश फैलाउने अनुपम धार्मिक साधना हो ।






