
२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।
‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’
प्रधानमन्त्री ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनले जथाभावी पेनकिलर लगायतका औषधि जथाभावी नखान र आफ्नो स्वास्थ्य जोगाउन कोसिस गर्न सल्लाह पनि दिए । आफ्नो स्वास्थ्यमा बिरामी आफैं सजग हुनुपर्ने बताउँदै उनले भने, ‘बिरामीलाई के थाहा हुनुपर्छ भने सजगता भएन भने विकराल रुप लिने खतरा हुन्छ । त्यसले ठूलो बिनास गर्छ ।’