गोरखा, जेठ १९ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिरान्चोक गाउँ कमिटीको आयोजनामा एक दिने स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सिरान्चोक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूको उपस्थिति रही, संगठन निर्माण, जनसंवाद, र राजनीतिक सैद्धान्तिकतामा गहिरो छलफल भएको थियो।

जनताको बीच पुगेर काम नगर्ने पार्टी कमजोर बन्छ — केन्द्रीय सदस्य न्यौपाने
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रशिक्षण दिँदै जनताबीच नपुगी गरिने राजनीतिको सीमा औँल्याउँदै भन्नुभयो —

“हामी नेता हुने होडबाजीमा छौँ, तर जनतालाई चिन्दै नचिनेपछि सफल कसरी हुन्छौं?”

उहाँले जनताले किन कम्युनिस्ट पार्टीलाई विश्वास गर्नुपर्छ भन्ने सन्दर्भमा कांग्रेस र कम्युनिस्टबीचको भिन्नता र माओवादी विचारधाराको विशेषताबारे पनि प्रशिक्षण दिनुभयो।

“कम्युनिस्ट भनेको प्रशिक्षणकै आधारमा चल्ने पार्टी हो,” — न्यौपाने

संगठन र सिद्धान्तप्रति प्रतिबद्धता आवश्यक — अमर तमु
अन्य प्रशिक्षकका रूपमा केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमुले पार्टी संगठन र सैद्धान्तिक अनुशासनबारे प्रशिक्षण दिनुभयो।
उहाँले स्पष्ट रूपमा भन्नुभयो —

“हामीले किन र कसका पक्षमा आन्दोलन गरेका थियौं भन्ने बिर्सनु हुँदैन, जनताको पक्षमा दृढ भएर उभिनुपर्छ।”

सदस्यता वितरण प्रणालीबारे जानकारी
नेता तमुले पार्टी सदस्यता वितरणका दुई तहबारे जानकारी दिँदै भन्नुभयो —

“जसले पार्टीप्रति हरेक परिस्थितिमा वफादार रहन्छ, उनलाई संगठन सदस्य दिइन्छ भने मौसम हेरेर आउने-जानेलाई साधारण सदस्य बनाइन्छ।”

सहभागीहरू
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रामबहादुर ढकाल, कम्युनिस्ट मञ्च गण्डकी प्रदेश अध्यक्ष नरनाथ मरहट्टा, गण्डकी प्रदेश सदस्य तथा गोरखा जिल्ला सचिव अंकुर तिमिल्सिना, प्रदेश समिति सदस्य सारदा घिमिरे, रोहित गुरुङ लगायत नेताहरूको विशेष उपस्थिति थियो।

कार्यक्रम अध्यक्षतामा गाउँपालिका प्रमुख
कार्यक्रम सिरान्चोक गाउँपालिका अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।
आयोजकका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण वडा पदाधिकारी, संघीय तथा प्रदेश निर्वाचन क्षेत्रका प्रतिनिधिहरू, शुभचिन्तकहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय