अमृत खनाल
गोरखा-ऐतिहासिक, क्रान्तिकारी र राजनीतिक चेतनाको धरोहर मानिने गोरखा जिल्लाले फेरि एकपटक राष्ट्रिय राजनीतिमा गौरवपूर्ण उपस्थिति जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनबाट गोरखाका १० जना युवाहरू शीर्ष नेतृत्वमा सर्वसम्मत चयन भएका छन्।
राजधानी काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनमा युवाहरूको सक्रियता, संगठनप्रतिको समर्पण र नेतृत्व क्षमताको मूल्यांकन गर्दै गोरखाबाट सुदीप नगरकोटी र प्रेम श्रेष्ठलाई वाइसिएलका उपाध्यक्षमा चयन गरिएको छ। यी दुवै नेताले संगठनमा लामो समयदेखि योगदान दिँदै आएका छन् र अब राष्ट्रव्यापी युवाहरुको नेतृत्वमा प्रमुख भूमिका खेल्नेछन्।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्यमा लक्ष्मी रम्तेल र सुनिल मगरको चयनले संगठनमा गोरखाली युवाहरूको विचार, प्रतिबद्धता र निरन्तर सक्रियताको सम्मान गरेको छ। साथै, केन्द्रीय सदस्यका रूपमा सागर श्रेष्ठ, सुवास तामाङ, मिरा उपरकोटी र नरबहादुर गुरुङ चयन भएका छन्, जसले विविध पृष्ठभूमिका युवा नेताहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
अझ उल्लेखनीय पक्ष के छ भने, लेखा आयोगमा समेत गोरखाली युवाहरूले नेतृत्व पाएका छन्। लेखा आयोगका उपप्रमुखमा गुणराज खनाल र सचिवमा धिरज उपरकोटी सर्वसम्मत चयन भएका छन्। यसले संगठनको आन्तरिक सुशासन र आर्थिक पारदर्शितामा गोरखाली युवा नेतृत्वले विश्वास प्राप्त गरेको देखाउँछ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनले पुष्प वलीलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ भने महासचिवमा गणेश शाही चयन भएका छन्। जेठ १८ गतेदेखि सुरु भएको सम्मेलनको छैटौं दिनसम्मको छलफल र निर्णयपछि नेतृत्व चयन प्रक्रियामा एकता र सहमतिको ऐतिहासिक अभ्यास गरिएको हो।
यसअघि वाइसिएलमा ६१ जना पदाधिकारी थिए भने यो सम्मेलनबाट थप १० पदाधिकारी चयन भएसँगै अब वाइसिएलमा ७१ जना पदाधिकारी रहनेछन्। साथै, वाइसिएलको केन्द्रीय कमिटीमा लेखा, निर्वाचन र अनुशासन आयोगसहित ३५१ सदस्य रहेको छ।
गोरखाबाट यति ठूलो संख्यामा युवाहरूको केन्द्रीय नेतृत्वमा पुग्नु जिल्लाको राजनीतिक सचेतना, संगठनात्मक क्षमता र परिवर्तनप्रतिको अठोटको प्रतिफल हो। स्थानिय तहदेखि राष्ट्रिय मञ्चसम्म युवा नेतृत्वको सशक्त उपस्थिति गोरखा जिल्लाका लागि मात्र नभई समग्र देशका लागि पनि प्रेरणादायी बन्न पुगेको छ।
युवाहरूको संगठनमा गोरखाली युवाहरूको वर्चस्व देखिनु भनेको लामो समयदेखि राजनीतिक प्रशिक्षण, सङ्गठनात्मक लगाव र विचारप्रतिको प्रतिबद्धताको नतिजा
यसरी गोरखाका युवाहरू राष्ट्रिय नेतृत्वमा स्थापित हुनु गोरखाको शान मात्र होइन, भविष्यका लागि पनि आशा र सम्भावनाको उज्यालो संकेत हो






