बालाजु शैक्षिक मञ्चद्वारा आयोजित विशेष शैक्षिक कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफैं सत्र सञ्चालकदेखि वक्तासम्मको भूमिका निर्वाह गरे। विभिन्न विद्यालयका विद्यार्थीहरूले वर्तमान समाज र भविष्यबीचको सेतु निर्माण गर्ने अभिप्रायले गम्भीर विषयहरूमा बहस र संवाद गरे।

कार्यक्रमको एक सत्रमा वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ र बालाजु शैक्षिक मञ्चका अध्यक्ष डीएन अधिकारी प्रमुख वक्ताका रूपमा सहभागी थिए। सो सत्रमा तीन विद्यार्थीले सामाजिक सञ्जालले सामाजिकिकरणमा पार्ने असर, महिला नेतृत्वको चुनौती, र किशोर अवस्था–सम्बन्धी जिज्ञासाहरू प्रस्तुत गरे।

विद्यार्थी आकृति अर्याल र विभूति भण्डारीले वडाध्यक्ष श्रेष्ठसँग महिला वडाध्यक्षका रूपमा अनुभव सोध्दा श्रेष्ठले सहज नभए पनि परिवर्तनका लागि निरन्तर प्रयासरत रहेको जनाइन्। “परिवर्तन सजिलो छैन, तर मैले सहजीकरण भएका काम गर्न थालिसकेको छु,” श्रेष्ठले भनिन्।

पढाइसँगै जीपीएको दबाब, अतिरिक्त क्रियाकलापको महत्त्वलगायत विषयमा पनि बहस भएको कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले विद्यार्थीहरूको प्रस्तुति उत्कृष्ट रहेको बताइन्। उनले भनिन्, “अब यस्तै कार्यक्रम महानगरमै लैजाने योजना बनाउँछौं। विद्यार्थीमा देखिएको सामाजिक–राजनीतिक चेतनाले हामी उत्साहित भएका छौं।”

कार्यक्रमको सहजीकरण बालाजु शैक्षिक मञ्चका इसिए कोर्डिनेटर तथा काउन्सिलर हिम्मत दाहलले गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय