काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।

रास्वपाका विपक्षीहरूले अहिले यसलाई मुद्दा बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यस्तै २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसदको लिस्टमा रहेका उनी केही महिनाअघि राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।
थापाको पारिवारिक पृष्ठभूमिलाई लिएर चौतर्फी आलोचना भइरहँदा रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।
यस्तै थापाविरुद्ध पार्टीको कुनै पनि निकायमा उजुरी नपरेको झाले जिकिर गरे । उनले भने, ‘उहाँ विरुद्ध उजुरी परेको भन्ने विषय सत्य होइन । पार्टीको कुनै पनि समितिमा कहिँकतै उजुरी परेकै छैन ।’

तर विपक्षीहरूले यसै विषयलाई लिएर चुनावी मुद्दा बनाउने देखिन्छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले संवैधानिक तथा कानुनी समस्या नआउनेमा पार्टी स्पष्ट रहेको बताए ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । असोज २२ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको छ । २३ गते उजुरी उपर छानबिन र निर्णय हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय