
काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारीलाई कडा शब्दमा विरोध गरेका छन्। उनले भने, “सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले लिएको खण्डमा यो केवल प्रविधि नियन्त्रण मात्र होइन, जनताको आवाज थुन्ने प्रयास हुनेछ।”
थापाले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारलाई कुण्ठित गर्ने यस्तो कदम लोकतन्त्रको आधारशिलामाथि चोट पुर्याउने बताएका छन्। उनले सरकारलाई तत्काल निर्णय फिर्ता लिन चेतावनी दिएका छन् र नागरिकलाई पनि सजग रहन आह्वान गरेका छन्।
यसबीच, सामाजिक सञ्जाल बन्द गर्ने सरकारी प्रस्तावको विरोधमा विद्यार्थी, पत्रकार र आईटी व्यवसायीहरू समेत सडकमा उत्रने तयारीमा रहेको खबर सार्वजनिक भएको छ।