जेनजी युवा अगुवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गरेकी छन् ।

जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।
गृहमन्त्री, गृहसचिवसहित चार वटै सुरक्षा अंगका प्रमुखहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल भएको थियो । सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको थियो ।

जेनजी युवाहरुले ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लगेर गएका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।

त्यसको जानकारी काठमाडौं प्रहरी परिसर प्रमुख रमेश थापाले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई गराए । त्यसपछि खापुङ केही बरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालकहाँ गएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय