काठमाडौं, कात्तिक १० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक महान पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयबाट जारी शुभकामना सन्देशमा पार्टीका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मधेस–तराई क्षेत्रको प्रमुख चाडका रूपमा मनाइने छठलाई नेपाली संस्कृति, परम्परा, श्रम र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्वको रूपमा व्याख्या गरेका छन्।
उनले छठले मानवीय जीवन र प्रकृतिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरेका छन्।
सन्देशमा भनिएको छ, “आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आशा, आत्मबल र आशावादको सन्देश अझ महत्वपूर्ण बनेको छ।” प्रचण्डले परिवर्तनका पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
उनले छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई अझ नजिक ल्याउँदै अन्धकारमाथि प्रकाश, नकारात्मकतामाथि सकारात्मकताको विजय स्थापित गर्ने प्रेरणा दिने विश्वास व्यक्त गरे।
सन्देशको अन्त्यमा उनले कामना गर्दै भनेका छन् —
“छठ पर्वले सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस्, देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभा उदाओस्।”






