काठमाडौं – किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्युपछि उत्पन्न विवाद चर्किएपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ।
खोटाङकी २६ वर्षीया मिनास्री राईको प्रसूतिपछि मृत्यु भएको घटनापछि अस्पतालमा तीन दिनदेखि तनाव चर्किएको थियो। ललितपुर जिल्ला प्रहरी कार्यालयका अनुसार अत्यधिक रक्तस्रावका कारण राईको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ, तर मृतकका परिवारजनले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका छन्।
घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका थिए, जसपछि स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। ललितपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार भीड नियन्त्रणका लागि २४ राउन्ड अश्रु ग्यास प्रहार तथा लाठीचार्ज गर्नुपरेको थियो।
गत शुक्रबार मृत्यु भएकी राईको घटनापछि आइतबार प्रमुख जिल्ला अधिकारी (सीडिओ), अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको छ। छलफलले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिवद्धता जनाएको छ। यसैबीच अस्पताल क्षेत्र आसपासमा थप सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।






