काठमाडौँ । यो वर्ष कात्तिक दोस्रो सातामै हिमाली क्षेत्रमा हिमपात भएपछि पर्यटन व्यवसायी र किसान दुबै उत्साहित भएका छन्। तीन वर्षपछि मुस्ताङमा राम्ररी हिउँ परेपछि कृषि, पर्यटन र जैविक विविधतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हिउँले स्याउ, उवा, फापरजस्ता बालीलाई फाइदा पुग्ने किसान बताउँछन् भने पशुपालन क्षेत्रका लागि पनि यो वरदान सावित हुने विशेषज्ञको मत छ।
अन्नपूर्ण बेसक्याम्प, मनाङ, रसुवा र सगरमाथा क्षेत्रमा बाक्लो हिमपातसँगै हिमाली दृश्य अत्यन्त आकर्षक बनेका छन्। हजारौँ विदेशी पर्यटक मनमोहक दृश्य हेर्न उत्साहित भए पनि जोखिम बढेकाले यात्रा चुनौतीपूर्ण बनेको छ। मनाङ र म्याग्दी प्रशासनले भारी हिमपातका कारण पदयात्रा र हिमाल आरोहण अस्थायी रूपमा रोक लगाएका छन्। सगरमाथा खुम्बु क्षेत्रमा सयौँ पर्यटक होटलमै रोकिएका छन् भने स्थानीय जीवन पनि प्रभावित भएको छ।
यद्यपि हिमपातसँगै सडक अवरुद्ध, चिसो बढ्नु, यात्रामा जोखिम र हराउने सम्भावनाले प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विभागले अझै केही दिन भारी वर्षा र हिमपातको पूर्वानुमान जारी गर्दै अनावश्यक जोखिम नलिन चेतावनी दिएको छ। प्रकृतिको सौन्दर्यले मन लोभ्याए पनि सुरक्षा प्राथमिक शर्त रहनेमा सरोकारवालाको जोड छ।






