काठमाडौंको बसपार्कमा तन्नाले पोको पारेको अवस्थामा फेला परेको शवको सनाखत हुन कठिन भएको छ।
शनिबार बिहान टोखा नगरपालिका-९ मा पोको पारेको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले शवको सनाखत गर्ने प्रयास भइरहेको बताए।
स्थानीयले पोको पारेको कपडा देखेर प्रहरीलाई खबर गरेका थिए। जसबाट गन्ध समेत आएको थियो।
‘सनाखत भइसकेको छैन। अनुसन्धान गरिरहेका छौं। शव फेला परेपछि पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएका छौं,’ एसपी भट्टराईले भने। शवको अनुहारमा केही चोटहरू समेत देखिएको प्रहरी स्रोतले बतायो।






