बजारमा खाना पकाउने ग्यास (एलपी) को आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सीधै ग्यास बिक्री वितरण सुरु गरेको छ । डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको हो ।
निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार ‘अहिले नेपाल ग्यासका सिलिन्डरहरू कार्यालयमा झारिसकिएको छ र यसको बिक्री वितरण तत्कालै सुरु भइसकेको छ’, विभागका प्रमुख उपाध्यायले “सत्य संवादसँग भने, ‘साथै, उपभोक्ताको मागलाई सम्बोधन गर्न एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको छ, ती कम्पनीका ग्यास पनि केही समयभित्रै टेकुबाट उपलब्ध हुनेछन् ।’
जसलाई एकदमै जरुरत छ र जसले डिलरबाट पाउनुभएको छैन, त्यस्ता ‘नीडी’ उपभोक्तारूलाई लक्षित गरेर हामीले यो कदम चालेका हौं’, उपाध्यायले भने उपभोक्ताहरूले ग्यासका लागि लामो समय कुर्नुपर्ने वा डिलरहरूमा धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।






