काठमाडौँःबारामा एक साताको अवधिमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएपछि वर्षायाममा बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको छ । पछिल्लो घटना आइतबार सुवर्ण गाउँपालिका–७ चौरहियामा भएको हो, जहाँ धानखेतमा जमेको पानीमा डुबेर १८ महिनाकी लालुकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मावली घर आएकी बालिका खेल्ने क्रममा सम्पर्कविहीन भएपछि खोजी गर्दा पानीमा डुबेको अवस्थामा फेला परेकी थिइन् । यसअघि असार ३२ गते करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले खनेर छाडेको पानी भरिएको खाल्डोमा डुबेर ११ वर्षीया रोशनी चौधरीको पनि मृत्यु भएको थियो । लगातार भएका घटनापछि जिल्ला प्रशासन कार्यालय बाराले अभिभावकलाई बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेको छ ।
साथै, इँटा उद्योग तथा अन्य निर्माणका लागि खनिएका खाल्डा सुरक्षित बनाउन, जोखिमयुक्त स्थानमा घेराबार र चेतावनी बोर्ड राख्न तथा वर्षायाममा सुरक्षा उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । नागरिक समाजले पनि यस्ता घटना दोहोरिन नदिन सबै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।






