बाजुराःबाजुरामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् ।
बाजुराको हिमाली गाउँपालिका–५ स्थित क्युडीको कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ः२५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेपछि दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमा बाजुराका जनवीर बुढा, धर्मलाल बुढा र मिजरा बुढाका साथै हुम्लाको ताजाकोट गाउँपालिका–५ का अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र अन्दाजी ९ वर्षीया सुस्मा बुढा रहेका छन् । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।






