काठमाडौँ :आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ ।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले मात्र २ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्यो । मंगलबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ प्रदर्शन ग¥यो । नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू संघर्षरत देखिएपछि टोली ४६ दशमलव ५ ओभरमा मात्र १५७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक३१ रन र दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए । रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरेपनि अन्य ब्याटर चल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले घातक बलिङ गर्दै ६ विकेट लिए ।१५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७ दशमलव ४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि जान फ्रायलिंकले अविजित ७७ र ओपनर माइकल भान लिङ्गेनले ५१ रनको अर्धशतकीय पारी खेले । नेपालका तर्फबाट नन्दन यादव र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।
यो जितसँगै लिग–२ को अंकतालिकामा नामिबिया २९ खेलबाट २४ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेट रनरेटका आधारमा नेपाल अगाडि रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेलमा बिहीबार आयोजक नेदरल्यान्ड्सको सामना गर्नेछ ।






