काठमाडौँःबागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संविधानको धारा १६८(२) बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिएका छन् । उनले आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।

गत ३२ असारमा मन्त्रिपरिषद् बैठक सकेर काठमाडौं फर्किएका ती मन्त्रीहरू राजीनामा बुझाउनका लागि पाँच दिनपछि मंगलबार राति हेटौंडा आइपुगेका थिए । मन्त्री पौडेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे छलफल भएपछि पार्टी नेतृत्वबाट राजीनामा दिन स्पष्ट निर्देशन आएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय