काठमाडौँःसुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा उत्पन्न तनावको प्रभाव कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ । त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र विद्यालयहरू बन्द भएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले भने सोमबार नै मंगलबार बिदा दिने निर्णय गरेका थिए । कप्तानगन्ज क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्म प्रदर्शन चर्किएको छ । विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएकाले यातायात पूर्ण रूपमा ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज क्षेत्र शान्त बन्दै गएको भए पनि राजमार्गमा प्रदर्शन जारी रहेकाले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामो समयदेखि सडक बन्द हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । प्रहरीले स्थिति सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । आइतबार र सोमबार भएका घटनाप्रति दुःख व्यक्त गर्दै हरिनगर, भोक्राहा नरसिंहलगायत तीन स्थानीय तहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले मंगलबार स्थानीय बिदासमेत दिएका छन् । देवानगन्ज घटनामा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।






