काठमाडौँःवीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका हुन् ।
अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । सबै चिकित्सकले राजीनामा दिने तयारी रहेको उनले बताए । आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित भएका छन् । डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयको आग्रहपछि चिकित्सकहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए ।
तर, त्यहाँ चिकित्सक संघका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने बताएपछि वातावरण तनावपूर्ण बनेको उनको दाबी छ । वार्तापछि सीडीओ र एसपीले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप चिकित्सकहरूको छ । डा. सिंहका अनुसार वार्ताबाट बाहिरिने क्रममा प्रहरीले चिकित्सकलाई घेरा हालेर मोबाइल खोसेको, पुनः कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखेको र अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।
यस घटनापछि सुरक्षित वातावरणमा काम गर्न नसकिने निष्कर्षसहित सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उनले बताए। सीडीओ र एसपी पदमा रहुञ्जेल काममा नफर्किने अडान पनि चिकित्सकहरूले दोहो¥याएका छन् । यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र प्रशासनको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । गत साउन ८ गते नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट, स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अस्पतालमा तोडफोड भएको थियो ।
घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उक्त घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा ठप्प पार्दै आन्दोलन जारी राखेका छन् ।






