सिरहाको गोलबजारमा आन्दोलनका क्रममा ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसीयाहीका १५ वर्षीय किशोर गणेश यादवको परिवार र नेपाल सरकारबीच ८ बुँदे सहमति भएको छ। जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री सुदन गुरुङ राति नै मृतकको घर पुगेर पीडित परिवारसँग वार्ता गरेपछि सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार सरकारले मृतक गणेश यादवलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ भने पीडित परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउनेछ। त्यसैगरी गोलबजार गोलीकाण्डको उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

पीडित परिवारको घाउमा मलम लगाउन सरकारले मृतकका एक योग्य सदस्यलाई रोजगारी, दाइ र बहिनीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन तथा बुबा-आमालाई सरकारी अस्पतालमा आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने सहमति गरेको छ। स्थानीय सरकारको समन्वयमा औरहीमा गणेश यादवको स्मृति पार्क र शालिक बन्नेछ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको शवलाई शनिबार हेलिकोप्टरमार्फत सिरहा ल्याई सरकारी खर्चमा अन्त्येष्टि गरिने सहमति पत्रमा उल्लेख छ।

सुनसरीको देवानगञ्ज झडपको विरोधमा साउन १४ गते गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी यादवको मृत्यु भएको थियो। दोषीलाई कारबाही र उचित क्षतिको माग गर्दै आन्दोलनरत पक्ष र परिवारले शव बुझ्न मानेका थिएनन्। यो सहमतिसँगै सिरहामा जारी आन्दोलन साम्य भएको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय