काठमाडौँः संयुक्त हिन्दू मोर्चा र सरकारबीच जनकपुरमा पुनः वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङ र मोर्चाका प्रतिनिधिबीच यात्री निवासमा भएको वार्तामा केही बुँदा थप गर्दै १८ बुँदे सहमति भएको बताइएको छ ।
मोर्चाले आफ्नो मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे वार्ताका विषयमा रहेका अस्पष्टता हटाउने काम भएको हो । उनका अनुसार लेटरप्याडमा हस्ताक्षर र केही विषयमा रहेको अन्योलबारे मोर्चाले कुरा राखेपछि गृहमन्त्रीले स्पष्ट पारेका थिए । वार्तापछि मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको उनले बताए । हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही विषय सच्याइएको र माग सम्बोधन गर्ने विषयमा गृहमन्त्रीले आश्वासन दिएको जानकारी दिए ।
उनले गृहमन्त्रीले कुनै पनि अवस्थामा गोली चलाउने निर्णय नगर्ने प्रतिबद्धता जनाएको दाबी गरे । यसअघि शनिबार राति गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा पहिलो बुँदामा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखिएको थियो भने अन्तिम बुँदामा आन्दोलनका कार्यक्रम फिर्ता लिने उल्लेख थियो ।






