काठमाडांँ: कुवेतमा इरानबाट भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ । सुरक्षा जोखिम बढेपछि कुवेत सरकारले सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न सुरक्षा उपाय लागू गरेको छ ।

गत ३० जुलाई बिहान इराकसँग जोडिएको कुवेतको थाक्सी क्षेत्रमा भएको ड्रोन आक्रमणमा मोरङ रतुवामाई–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो । सन् २०२२ देखि कुवेतमा कार्यरत तामाङ कम्पनीको गाडी चालक थिए । आक्रमणका बेला गाडीमै रहेका उनको ड्रोन खस्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । एनआरएनए कुवेतका अध्यक्ष दिलकुमार पाख्रिनका अनुसार घटनापछि नेपालीहरू चिन्तित बनेका छन् ।

कुवेत सरकारले संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीलाई ‘वर्क फ्रम होम’ व्यवस्था गरेको छ भने नागरिकलाई आधिकारिक सूचना मात्र पालना गर्न र अनावश्यक बाहिर ननिस्कन आग्रह गरेको छ । कुवेतले अस्पताल, होटल तथा सार्वजनिक स्थानमा रातिको समयमा बाहिरी बत्ती कम गर्न निर्देशन दिएको छ । साथै अत्यावश्यक सामग्री अनावश्यक सञ्चय नगर्न र पानीको खरिदमा समेत सीमा तोकिएको छ । यसैबीच, कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमले आक्रमणमा मृत्यु भएका तामाङको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाइसकिएको जानकारी दिएका छन् ।

सुरक्षा अवस्था संवेदनशील बनेपछि नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय