काठमाडौं । कन्नड सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार पाँच भाषामा सार्वजनिक गरिएको करिब पाँच मिनेट लामो ट्रेलरमा यशलाई दमदार ग्याङ्स्टर अवतारमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा यशको लुक्स, एक्सन र स्क्रिन प्रेजेन्सलाई विशेष प्राथमिकता दिइएको छ। भव्य दृश्य, तीव्र एक्सन, प्रभावशाली छायांकन र पार्श्व ध्वनिले ट्रेलरलाई आकर्षक बनाएको छ। यद्यपि, ट्रेलरले फिल्मको मुख्य कथावस्तु भने स्पष्ट रूपमा खुलाएको छैन।
ट्रेलरको अर्को रोचक पक्ष यशको दोहोरो भूमिका हो। एक दृश्यमा यशले निभाएका दुई पात्र आमनेसामने भिडिरहेको देखिन्छ। यसले फिल्मको कथालाई लिएर थप कौतूहल सिर्जना गरेको छ।
फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरैसी, तारा सुतारिया र रुक्मिणी वसन्तको मुख्य भूमिका रहेको छ। यद्यपि, ट्रेलरमा अभिनेत्रीहरूको पात्र र कथामा उनीहरूको भूमिकाबारे धेरै जानकारी दिइएको छैन।
गीतु मोहनदासको लेखन तथा निर्देशन रहेको फिल्म २६ अगस्टमा प्रदर्शनमा आउनेछ। ‘लायर्स डाइस’ र ‘मूथोन’ जस्ता फिल्म निर्देशन गरिसकेकी मोहनदासको यो फिल्मलाई यशको स्टारडमसँगै भव्य मेकिङका कारण बहुप्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।
फिल्मका निर्माता स्वयं यश हुन्। उनको निर्माण कम्पनी मोन्स्टर माइन्ड क्रिएसन्सले ‘टक्सिक’ निर्माण गरेको हो।






