काठमाडौँः सरकारले नेपालमा आयोजना गर्न रोक लगाएको १७औँ अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेन स्टडिज (आईएटीएस) ले पूर्वनिर्धारित समय अगस्ट २३ देखि २९ सम्म नै सम्मेलन अनलाइन आयोजना गर्ने निर्णय गरेको हो ।

नेपालतर्फको सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज÷सेन्टर फर बुद्धिस्ट स्टडिजले कार्यक्रमबाट हात झिकेपछि आईएटीएसले सम्मेलनको जिम्मेवारी आफैं लिएको हो । अगस्ट ७ मा बसेको आकस्मिक बैठकले सम्मेलनलाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको आयोजकले जनाएको छ ।

तिब्बती मामिलाको संवेदनशीलता र चीनको चासोका कारण नेपाल सरकारले गत साता सम्मेलन नेपालमा आयोजना गर्न रोक लगाएको थियो। सम्मेलन रोक्न मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका थिए । त्यसपछि आयोजकलाई नेपालमा कार्यक्रम गर्न नसकिने मौखिक जानकारी दिइएको थियो ।

आयोजकका अनुसार सम्मेलन नेपालमा आयोजना गर्ने सहमति सन् २०२३ मै भएको थियो । तीन वर्षदेखि तयारी भइरहेको सम्मेलनमा ७०० भन्दा बढी सहभागीले नाम दर्ता गरिसकेका थिए भने हवाई टिकट र काठमाडौंका होटलसमेत बुक गरिसकेका थिए । अन्तिम समयमा सम्मेलन रोकिँदा ठूलो आर्थिक तथा प्रतिष्ठासम्बन्धी क्षति हुने दाबी गर्दै आईएटीएसले यस घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा समेत प्रश्न उठाउने बताएको छ । सम्मेलनको सल्लाहकार बोर्डले अगस्ट ६ मा शिक्षामन्त्री सस्मित पोखरेललाई पत्र पठाउँदै कार्यक्रम सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

काठमाडौं विश्वविद्यालयबाट कार्यक्रम आयोजना गर्न सम्भव नभए आईएटीएस स्वयंले जिम्मेवारी लिएर कार्यक्रम गर्न सकिने विकल्पसमेत प्रस्तुत गरिएको थियो । तर, मन्त्रीबाट आवश्यक प्रतिक्रिया नआएपछि आयोजकले सम्मेलनलाई भर्चुअल रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अब सहभागीहरूले आफू रहेकै स्थानबाट अनलाइन माध्यममार्फत सम्मेलनमा सहभागी हुन तथा आफ्ना शोधपत्र र प्रस्तुति प्रस्तुत गर्न सक्नेछन् ।

आईएटीएसका अनुसार संस्थाको ४७ वर्षको इतिहासमा एसिया, युरोप र उत्तर अमेरिकामा यसअघि १६ वटा सेमिनार आयोजना भइसकेका छन् । आयोजकले ती सबै कार्यक्रम विशुद्ध शैक्षिक प्रकृतिका रहेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय