काठमाडौँः शनिबार दिउँसो कोटेश्वरको नरेफाँटदेखि बोजेपोखरी जाने क्रममा पुष्पेश भाटलाई आफूहरू प्रहरी भएको भन्दै आएको समूहले स्कोर्पियोमा राखेर लगेको छ । पुष्पेश याङ्गोमार्फत बुक गरिएको मोटरसाइकलमा जिलाप तामाङसँगै टीकाथलीस्थित साथीको डेरातर्फ जाँदै थिए । नरेफाँटको बाटोमा चार स्कुटर र एउटा स्कोर्पियोमा आएका व्यक्तिहरूले मोटरसाइकल घेरे ।
त्यसपछि स्कुटरबाट झरेका चार–पाँच जनाले आफूहरू प्रहरी भएको बताएर पुष्पेशलाई मोटरसाइकलबाट झारे र स्कोर्पियोमा राखेर लगे । मोटरसाइकल चालक जिलापका अनुसार ती व्यक्तिहरूले आफूलाई केही नगरे पनि पुष्पेशलाई किन लगेको भन्ने जानकारी दिएनन्। उनले समूह प्रहरी नै हो भन्ने ठानेर तत्काल कुनै प्रतिरोध नगरेको बताए । घटनाको करिब आधा घण्टापछि पुष्पेशका साथीले जिलापलाई फोन गरेपछि मात्रै उनी सम्पर्कविहीन भएको खुलेको थियो । पुष्पेशले याङ्गो बुक गर्न प्रयोग गरेको मोबाइल उनका आफन्त भाइ शुभम भाटको थियो ।
पुष्पेश र शुभम टीकाथलीस्थित एउटै फ्ल्याटमा बस्दै आएका छन् । पुष्पेश बेपत्ता भएपछि शुभमले टीकाथली प्रहरी चौकी, सातदोबाटो र बानेश्वर प्रहरी वृत्तलगायत विभिन्न प्रहरी कार्यालयमा पुगेर खोजी गरिरहेका छन् । तर, उनलाई कहाँ र कसले लगेको भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन । पुष्पेशको अवस्थाबारे बुझ्न विभिन्न प्रहरी कार्यालयमा सम्पर्क गर्दा पनि आफूहरूलाई घटनाबारे जानकारी नभएको जवाफ आएको परिवारले जनाएको छ । पाटन बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत पुष्पेश परीक्षा दिन साउन १५ गते काठमाडौं आएका थिए ।
शनिबारदेखि सम्पर्कविहीन भएपछि कञ्चनपुरमा रहेका उनका परिवारका सदस्यसमेत काठमाडौं आएर खोजीमा जुटेका छन् । २० घण्टाभन्दा बढी समय बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारमा चिन्ता बढेको छ ।






