२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।
थापाका अनुसार तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि कांग्रेस नेतृत्वमा रहेका प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेका प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन गर्ने विषयमा एमालेसँग छलफल भए पनि कुरा नमिलेको उनले बताए ।
तर, छलफलका क्रममा सातवटै प्रदेशमा कांग्रेस, एमाले र नेकपा सहभागी संयुक्त सरकार बनाउने प्रस्ताव आएको र कांग्रेसले त्यसलाई अस्वीकार गरेको थापाले स्पष्ट पारे ।
उनले प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दल मिलेर सरकार बनाउनु लोकतान्त्रिक मूल्य, संघीयता र स्वयं कांग्रेसका लागि समेत उपयुक्त नहुने बताए ।
‘प्रदेशमा अपोजिसन नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टी, संघीयता र लोकतन्त्रका लागि पनि ठिक छैन,’ थापाले भने ।
मधेश प्रदेशमा भने विशिष्ट राजनीतिक अवस्था रहेको उल्लेख गर्दै उनले त्यहाँ कांग्रेस, एमाले र नेकपा सहभागी संयुक्त सरकार रहेको बताए ।
थापाले संघीय सरकारमा कांग्रेसको भूमिका तथा प्रतिपक्षमा रहेका प्रदेशमा पार्टीले कसरी अघि बढ्ने भन्ने विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकमा थप छलफल आवश्यक रहेको बताए ।






