२४ साउन, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
जैब एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।
एनपीएलको दोस्रो संस्करणमा भने जैब चितवन राइनोजबाट खेलेका थिए। उनले सात खेलमा ११६ रन बनाउँदा पाँच विकेटसमेत लिएका थिए।
इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने अवसर नपाएका जैब घरेलु क्रिकेटमा भने निरन्तर सक्रिय छन्। बायाँहाते ब्याटर जैबले टी–२० क्रिकेटमा ११२ खेल खेल्दै १४० भन्दा बढीको स्ट्राइक रेटमा १ हजार ७ सय ९२ भन्दा बढी रन बनाएका छन्। भाइटालिटी ब्लास्टमा मात्रै उनको नाममा १ हजार ६ सयभन्दा बढी रन छ।
स्लो लेफ्ट आर्म बलिङ गर्ने जैबले टी–२० क्रिकेटमा २३ विकेटसमेत लिएका छन्। पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा खेलिरहेका उनी उत्कृष्ट लयमा छन्।
सुदूरपश्चिम रोयल्समा पुनः फर्किएपछि जैबले आफू ‘घर’ फर्किन पाउँदा खुसी लागेको बताएका छन्।
‘म फेरि आफ्नो घरमा फर्किन पाउँदा निकै खुसी छु र नेपालमा फेरि आएर खेल्न उत्साहित छु,’ उनले भने।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जैबलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
‘जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा निकै खुसी र उत्साहित छौं। यसपटक पनि उनीबाट पहिलो संस्करणमा जस्तै योगदानको अपेक्षा राखेका छौं,’ खड्काले भने।
एनपीएल २०२६ का लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो।
यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको छ। जैबको पुनरागमनसँगै सुदूरपश्चिम रोयल्सले एनपीएल २०२६ का लागि आफ्नो टोलीलाई थप बलियो बनाएको छ।






