काठमाडौँः सल्यानमा भेरी नदीमा जिप खस्दा बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जिप चालक दाङका २३ वर्षीय हेमराज बीसी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीका अनुसार उनीहरूको खोजी कार्य जारी छ । बुधबार छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेको थियो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ जाँदै गरेको जिपमा चार जना सवार थिए । दुर्घटनामा वनगाड कुपिण्डे–१ का २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






