ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउँदा आवश्यक प्रारम्भिक उपचारसमेत उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले सोमबारदेखि सेवा सुरु गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सोमबार एक कार्यक्रमबीच चिकित्सकसहितको एम्बुलेन्स सेवाको शुभारम्भ गरिन् । उनले ललितपुर महानगरपालिकाले सुरु गरेको सेवा उदाहरणीय रहेको बताइन् ।

‘एम्बुलेन्स सर्भिस दिनु मात्रै ठूलो कुरा होइन । एम्बुलेन्समा पारामेडिक्स मात्र होइन, मेडिकल अफिसर वा स्वास्थ्यकर्मीलाई समेत सँगै राखेर सेवा सुरु गर्नु महत्वपूर्ण कुरा हो । ललितपुर महानगरपालिकाले सुरु गरेको यो सेवा सबैका लागि गर्वको कुरा हो,’ मन्त्री मेहताले भनिन् ।

उनले आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने भन्दै घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सकेमा धेरै गम्भीर क्षति रोक्न सकिने बताइन् ।

‘हामीलाई अस्पताल पुग्न अलिकति ढिला भयो भने पनि ठूलो दुर्घटना हुन सक्छ । त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी साथमा हुनुहुन्छ र तत्काल प्राथमिक उपचार दिन सकियो भने धेरै ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ,’ उनले भनिन् ।

ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको उनको भनाइ छ । ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधारका लागि महत्वपूर्ण पहल भएको बताए ।

‘चिकित्सकसहितको एम्बुलेन्स नयाँ कन्सेप्ट हो । यस्तो सेवा विश्वभर सीमित देशमा मात्रै सञ्चालनमा रहेको हुन सक्छ । यसले बिरामीको प्रि–हस्पिटल केयरमा उल्लेखनीय सुधार ल्याउनेछ,’ उनले भने ।

महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै आएको उनले बताए । उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन् । तीमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा सुरु गर्ने अवधारणा अघि बढाएको बताए ।

‘माकातीमा डाक्टरसहितको एम्बुलेन्स सेवा निकै राम्रोसँग सञ्चालन भइरहेको देखेपछि ललितपुरमा पनि यस्तो सेवा किन सुरु नगर्ने भन्ने सोच आएको हो । त्यसपछि वडा अध्यक्षहरूसँग छलफल गरेर सेवा सुरु गर्ने निर्णयमा पुग्यौँ,’ महर्जनले भने ।

उनका अनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित गरी आवश्यक बजेट व्यवस्थापन गरेर सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सञ्चालनका लागि महानगरपालिकाले आवश्यक कार्यविधिसमेत तयार गरेको छ ।

‘यो सेवा सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम हो । पैसा र जनशक्ति भएर मात्रै यस्तो सेवा सहज रूपमा सञ्चालन गर्न सकिँदैन । काम गर्दै जाँदा देखिने समस्या र कमजोरीलाई सुधार गर्दै लैजान्छौँ,’ उनले भने ।

महर्जनका अनुसार एम्बुलेन्स सेवा विशेषगरी आपत्कालीन अवस्थाका बिरामीलाई लक्षित गरिएको छ । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पतालमा पुर्‍याउने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले फोन आएको १५ मिनेटभित्र घटनास्थलमा एम्बुलेन्स पुर्‍याउने लक्ष्य राखेको छ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

एम्बुलेन्स सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको हो । एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय