काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म गत साताको बक्स अफिस रिपोट सार्वजनिक गरेको छ । बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसाय समेट्दै सार्वजनिक गरेको बक्स अफिस रिपोट अनुसार फिल्म ‘गौथली’ ले २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मलाई यस अवधिमा अवधिमा ८ लाख ५५ हजार ७५२ जनाले हरेका छन् ।
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् । केही साता अघिनै फिल्म कमाइको मामलामा यो वर्ष रिलिज भएका फिल्महरूमा सबैभन्दा अग्रस्थानमा रहन सफल भएको थियो । फिल्मको व्यवसाय अहिले पनि राम्रो रहेको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ । कलाकारसहितको टिम अहिले पनि हल हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ ।






