बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका हुन्।
बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्। नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए।
उनलाई प्रदेश सभा विश्वासको मतको प्रस्ताव लैजाँदा आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीले मात्रै विश्वासको मत दिने अवस्था बनेको थियो। प्रस्तावको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए।






