पर्दाभित्रको पृथक दुनियाँ ! हुन पनि चलचित्र होस् या नाटक, त्यहाँ देखाइने कतिपय कथावस्तु मानिसको दैनिकीभन्दा निकै पर हुन्छन्। यसकारण पनि मानिसले पर्दाभित्र र बाहिरको दुनियाँलाई फरक नजरबाट हेर्छन् अनि आफूसक्दो विश्लेषण गर्छन्। तर समाजमा कतिपय यस्ता वास्तविकता पनि सिर्जित हुन्छन्, जसलाई हामीले यो पर्दामा देखेका/भेटेका पात्रभन्दा फरक पाउँदैनौँ। यस्तै एक उदाहरणीय जोडी हो- सिर्जना सुवेदी र विकेक पंगेनीको जोडी।

टिकटकमा बढी सक्रिय रहने यो जोडी कुनैबेला ‘भाइरल डान्स जोडी’ थियो। आफू नाच्न जान्ने सिर्जनाले श्रीमान् विवेकलाई पनि आफूसँगै नचाउँथिन्। खासै ढंग पुर्‍याएर नाच्न नजान्ने विवेकको डान्स स्टेपले धेरै दर्शक कमाएको थियो। तर समय सधैं एउटै गतिमा रहेन। केही महिना पहिलेसम्म टिकटकमा ‘बुढो नचाउने दिदी’ उपनाममा भाइरल बनेकी सिर्जनाको दैनिकीसँगै उपनाउँ पनि फेरियो यतिबेला।
श्रीमान विवेकलाई जबर्जस्ती नचाएको भन्दै बेलाबेला दर्शकबाट अमिला प्रतिक्रिया पाइरहने सिर्जनाले यतिबेला उनै दर्शकको अपार माया पाएकी छन्। तर परिस्थितिले भने अमिलो मात्र होइन, निकै तीतो यथार्थ थमाएको छ उनलाई।

टिकटकमा सिर्जनाले सिकाएको हाउभाउ कपी गर्ने उनका श्रीमान् विवेक यतिबेला ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन्। आज पनि सिर्जना टिकटकका उस्तै स्टेप गरेर मृत्युसँग लडिरहेका विवेकलाई हौसला दिइरहेकी छन्। आजभोलि पनि उनी प्राय: टिकटक बनाइरहन्छिन्। दर्शकको मागअनुसार श्रीमानको दैनिकी लगायतका कुरा पनि देखाउँछिन्।
देखाउन त उनले आफ्नो दैनिकी देखाएकी हुन्। तर उनको त्यही दैनिकी आम-दर्शकका लागि कुनै ‘स्याड मुभी’को स्टोरीभन्दा कम छैन। पतिको अन्तिम अवस्थासम्म पनि यसरी हौसाइरहेकी सिर्जनालाई दर्शकले पनि अपार माया दिएका छन्। कुनै समस्या परे साथ दिने आश्वासन दिने उनै दर्शकले सिर्जनालाई देवीको रूप मान्न थालेका छन्।

टिकटकमा सिर्जनाले देखाएको एउटा दृश्य, जुन हेरेर आँसु नबगाउने कमै दर्शक होलान्। उक्त दृश्यमा: सिर्जनाले विवेकको कपाल काटिदिन्छिन्, उभिन सके पनि बोलचाल गर्न खासै नसक्ने विवेक सिर्जनालाई एकोहोरो नि‍यालिरहेका हुन्छन्। लगत्तै सिर्जनाले आफ्नो कपाल पनि काट्दै भक्कानिन्छिन्। प्राय: गह भरिरहने सिर्जना काटेको कपाल हातमा लिएर श्रीमानलाई देखाउँदै आँसु बगाउँछिन्। उनीसँगै विवेकले पनि आँसु झार्छन्।

हुन त श्रीमान्-श्रीमतीको जोडी जीवनभर जस्तोसुकै परिस्थितिमा पनि रहने भएकाले ‘जीवनसाथी’ भनी नामाकरण गरिएको होला। तर पूँजीवादी समाज त्यसमाथि पनि व्यक्तिवादी बन्दै गएको हाम्रो सामाजिक संरचनाका लागि सिर्जना एक उदाहरणीय नारी पात्र बनिन्।

रोगका कारण भौतिकशास्त्रमा पिएचडी गर्नलाई पूर्ण छात्रवृत्ति कोटामा अमेरिका पुगेका विवेकको पिएचडी मात्र होइन, सिर्जनाका सपना पनि विवेकको स्वास्थ्यजस्तै गलेका छन्। अमेरिका गएको सुरुवाती दिनमा त्यहाँका विभिन्न ठाउँमा भिडियो बनाउने यो जोडीको जीवनमा त्यतिबेला भूकम्प आयो, जतिबेला विवेककी आमाको निधनका कारण करिब साढे दुई महिना अगाडि नेपाल आए।

करिब सात महिना पहिले निकै सपना सजाएर खुसीसाथ अमेरिका पुगेका उनीहरूको जीवनमा आमाको निधनसँगै अर्को पनि बज्रपात आयो। आमाको काजकिरिया सकेर अमेरिका फिर्ने तयारीमा रहेका विवेक‍को स्वास्थ्य परीक्षण गर्दा समस्या देखियो।

अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा विवेकलाई क्यान्सर लागेको थाहा भयो। लागेको मात्र होइन्, चौँथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि उनीहरूमाथि के बित्यो होला, यो त भोग्नेलाई मात्र थाहा होला। लगत्तै उनीहरू अमेरिका गए। विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो। त्यसपछि हालसम्म पनि उनको उपचार चलिरहेको छ।

मेडिकल र विज्ञानको चमत्कार त छँदै छ। त्यसभन्दा आफ्नो प्रेम र हौसलाले विवेकलाई शक्ति दिने हिम्मत राख्दै निरन्तर साथ र हौसला दिइरहेकी छन् सिर्जना। यो अभिप्राय प्रेम, कला, महशुस, हर्स र एउटा मदन र मुनाको कहानी भन्दा कम छैन। यो केवल शक्ति त सामर्थय होइन यो शाहसी माया पनि हो।

यो जोडीलाई सहयोगको निम्ति यहाँ थिच्नुहोस ;https://www.gofundme.com/f/daxry-help-for-cancer-patient

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय