काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व हत्याउन हानथाप परेको छ । नेतृत्वका आकांक्षीबीच कसले अध्यक्ष पद हत्याउने भन्नेमा हानथाप परेको हो ।
अध्यक्षका आकांक्षी मदन भुल, मदन भट्टाराई , नारान खनाल, पवन कार्की,तुकमान महरा, नरेश रेग्मी, दिपेश पुनलगायतका दर्जन बढी विद्यार्थी नेताहरू छन् ।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरूले भेटेरै नेतृत्व छनोटबारे छलफल गरेका थिए । अध्यक्षले संगठनको नेतृत्व सहमति वा निर्वाचनको माध्यमबाट छनोट गर्न निर्देशन दिएका थिए ।
तर, बीचमै उमेरहद मुद्दाको थालनी भएपछि झन् विवाद गहिरिँदै गएको छ । यसबारे पनि प्रचण्डले सहमति र निर्वाचनको माध्यम अपनाउन भनेका थिए । ३२ नाघेका विद्यार्थीहरूले उमेरहद लागू नगर्न जोडबल गरेपछि सम्मेलन नै लम्बिएको हो ।
सम्मेलन लम्बिएपछि केही विद्यार्थी प्रतिनिधि घर हिँडेका छन् भने अधिकांश काठमाडौंमै छन् । उनीहरूले सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेर घर जाने अठोट लिएका छन् ।
नेतृत्वका आकांक्षी भने रात, दिनै नेता गुहार्न पुगेका छन् । आज (बुधबार) बिहानैदेखि उनीहरूले प्रचण्ड निवास खुमलटार पुगेरै सहमति गरिदिन आग्रह गरेको खुमलदार पुगेका एक विद्यार्थी नेताले बताएका छन् ।
यसका लागि प्रचण्डले केहीबेर अघि पार्टी पदाधिकारी बैठक बसालेका छन् । अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म तोकिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । सम्मेलन कीर्तिपुर, काठमाडौंस्थित स्कृतिसभा हलमा जारी रहेको छ ।