काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन् ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन् । पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए ।
नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ । महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको उनको धारणा छ ।
नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टने संस्कार नै विकास भएको पोखरेलले बताए । कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने महासचिव पोखरेलको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निक्कै कमजोर रहेकोले नेपालले स्वास्थ्य र शिक्षामा जोड दिनु पर्ने पोखरेलले बताए ।






