काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि एकमात्र फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको यसले नेपाली फिल्महरू तर्फ एकल प्रदर्शन अवसर पाएको हो ।
यद्यपि फिल्मले देशभरको फिल्म हल एक्लै पाएको छैन । किनभने अघिल्लो साताहरूमा प्रदर्शनमा आएका ‘कबड्डी’, ‘छ माया छपक्कै २’, ‘आबाट आमा २’ लगायत केही नेपाली र ‘रामायण’ विदेशी फिल्म पनि प्रदर्शनमा छ ।
प्रदर्शन अगाडि विभिन्न लफडा भोगेको यो फिल्म वसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको मुख्य भूमिका छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । काली रानी श्रेष्ठ निर्माता रहेको फिल्मको कथा, पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लखेका हुन् । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले वितरण गरेको हो ।








