मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ लाई बमले उडाउने तेस्रो पटक धम्की आए पनि अभिनेता अमिताभ बच्चन आफ्ना प्रशंसकलाई भेट्न बाहिर निस्किएका छन्।
कडा सुरक्षा घेराबिच उनी आइतबार ‘जलसा’ को मुख्य ढोकामा आएर ठुलो सङ्ख्यामा भेला भएका फ्यानहरूको अभिवादन स्वीकार गरे।
मुम्बई प्रहरीका अनुसार बिहीबार बिहान बच्चनको निवास ‘जलसा’ लाई बमले उडाउने धम्कीपूर्ण इमेल आएको थियो। उक्त इमेलमा २७ नोभेम्बर र ३१ डिसेम्बरसहित विभिन्न मितिहरू उल्लेख गरिएको छ।
एक महिनाभित्र बच्चनको घरलाई निशाना बनाउने धम्की आएको यो तेस्रो पटक हो। यसअघि ६ नोभेम्बरमा पनि ‘जलसा’ लाई उडाउने धम्कीयुक्त इमेल प्राप्त भएको थियो। त्यस्तै, २३ अक्टोबरमा मुम्बईकी मेयर रितु तावडेलाई पठाइएको इमेलमा समेत बच्चनको बंगला बमले उडाउने चेतावनी दिइएको थियो।
बमको धम्कीसँगै अमिताभको घरबाहिर गोली चलाउने षड्यन्त्र रचिएको तथ्यसमेत बाहिर आएको छ। दिल्ली प्रहरीले घरबाहिर गोली चलाउने योजना बनाइरहेका दुई जना सार्पसुटरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जालन्धरका विकास ठाकुर र तरनतारनका दीपक सिंह छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना विदेशमा रहेका एक ग्याङस्टरका लागि काम गर्छन्। ती ग्याङस्टरले सन् १९८४ को सिख विरोधी दङ्गाका विषयमा अमिताभले दिएको भनिएको कथित अभिव्यक्तिका कारण उनलाई निशाना बनाउन खोजेको अनुसन्धानबाट खुलेको छ।
यद्यपि, अमिताभले आफूले त्यस्तो कुनै पनि अभिव्यक्ति नदिएको प्रस्ट पारिसकेका छन्।








