वरिष्ठ साहित्यकार प्रा.डा.राजेन्द्र विमलका छोराहरूले प्रादेशिक अस्पताल जनकपुरले चरम लापर्बाही गर्दा आफ्नो बुवाको निधन भएको आरोप लगाएका छन् ।
स्वर्गीय विमलका छोराहरू डा. आभाष र विभाष लाभले सामान्य अवस्थामा लगिएको बिरामीलाई अस्पतालले उपचारमा बेवास्ता गर्दा अकल्पनीय मृत्यु हुन पुगेको बताए । विमलका छोरा अभाषले भने, ‘राति ११ बजे बुवा ठिक हुनुहुन्छ, खाना खाएर हामी सबैसँग कुराकानी भयो । त्यसपछि एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सक कुलदिप पंडितको सल्लाहमा सरकारी अस्पताल लिएर गयौँ, तर त्यहाँ लैजानु नै ठुलो गल्ती भयो । सायद त्यहाँ नलगेको भए बुवा अहिले हामीसँगै यहीँ हुनुहुन्थ्यो होला ।’उनका अनुसार राति बुवालाई अस्पताल लगिसकेपछि एकडेढ घण्टा त विज्ञ चिकित्सक त परको कुरा, कुनै चिकित्सक उपचारका लागि आएनन् ।विमलका कान्छा छोरा विभाषले बुवालाई लिएर अस्पताल जाँदा नाइट सिफ्टमा हुने डिउटी इन्चार्ज विशेषज्ञ चिकित्सक नभएको र सामान्य स्वास्थ्यकर्मीले मनलाग्दी उपचार गर्दा बुवाको असामयिक निधन हुन पुगेको बताए । ‘राति नै अस्पतालमा रहेका स्वास्थ्यकर्मी तथा भित्र–बाहिर रहेका धेरैलाई भन्यौँ । कतिपय ठाउँमा फोन गर्यौँ तर कुनै पनि चिकित्सक नआउँदा बुवा राम्रो उपचारको अभावमा आज हामीसँग हुनुहुन्न,’ उनले भने ।आफूहरूले परिवारको एक जना सदस्य गुमाएको, तर देशले मिथिला साहित्यका ठुलो श्रष्टा गुमाउन पुगेको उनको भनाइ छ । उनले भने, ‘त्यसमा हामीमात्र नभई सम्पूर्ण मिथिलाबासी स्तब्ध छौँ ।’
आफू पनि चिकित्सक रहेको प्रस्ट पार्दै विमलका छोरा आभाषले भने, ‘काठमाडौँमा म आफैँ यही स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकको नाताले भन्छु कि प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सकले राम्ररी ध्यान दिएर उपचार गरेको भए सामान्य अवस्थामा अस्पताल पुग्नुभएका बुवा सामान्य तरिकाले नै फर्किनुहुन्थ्यो ।’
बुवालाई पेसमेकरको सहारामा राखिएका कारण सामान्य खोकी लाग्दा पनि विशेष ख्याल गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । ‘मैले काठमाडौँमा चिकित्सक रमेश चोखानीसँग बिहीबारका लागि समय पनि लिइसकेको थिएँ, तर यहाँ अस्पतालको चरम लापर्बाहीले बुवाको मृत्यु भयो,’ उनले भने ।
आभाषका अनुसार उनका बुवालाई सामान्य श्वासप्रश्वासमा समस्या थियो । अस्पताल लगिसकेपछि राति राम्रो चिकित्सकले नहेर्दा डिउटीमा रहेका स्वास्थ्यकर्मीले एजिथ्रोमाइसिन भन्ने औषधि चलाएका थिए । त्यसले समस्या झनै बढेको उनको भनाइ छ । ‘यो औषधि पेसमेकर राखिएका बिरामीलाई हत्तपत्त चलाउनै हुँदैन,’ उनले भने, ‘यो औषधिले पेसमेकर राखिएको भल्भलाई झनै तीव्र गतिमा चलायमान बनाएर अवस्था बिगार्न सक्छ । सायद त्यस्तै भएको हो कि भन्ने मलाई लागेको छ ।’
राति आफ्नो काका एवं प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले समेत फोन गर्दा अस्पतालले चासो नदेखाएको आभाष र विभाषको भनाइ छ । विभाषले भने, ‘आज बुवाको निधन पश्चात राष्ट्रपति, संघीय सरकार, प्रदेशका मुख्यमन्त्री लगायत मुलुक बाहिरबाट श्रद्धान्जली पठाउनेको ओइरो छ, तर त्यही अस्पतालले उहाँको महत्त्व बुझ्न सकेन । उहाँजस्तो मान्छेलाई त अस्पतालले यस्तो गर्न सक्छ भने सर्वसाधारणको अवस्था के हुन्छ होला ! कल्पना गर्न सकिने अवस्था छैन ।’
आफूहरू सामाजिक उत्तरदायित्व ग्रहण गर्ने व्यक्ति भएकै कारण व्यक्तिगत रूपमा कसैको मानमर्दन गर्ने, रोजीरोटी खोस्ने, आरोप–प्रत्यारोप गर्नेजस्ता कार्यमा नलागी चुप लागेर बसेको उनीहरूले प्रस्ट पारे ।
छोरा आभाषका अनुसार बुवा राजेन्द्र विमलले लेखन गर्दै आएको किताब ‘सीता चरित्र’ आधामै रोकियो । ‘त्यो अब पूरा हुँदैन । त्यो किताब पूरा भएको भए जनकपुर, मिथिलाको धार्मिक तथा पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्थ्यो,’ उनले भने ।
जनकपुर–१० निवासी ७९ वर्षीय प्रा.डा. विमलको गत सोमबार राति उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो । अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधि, नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए ।
बाल्यकालदेखि नै साहित्यमा रुचि भएका उनको विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशन भएका छन् । नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्याएको भन्दै डा.विमल २०६६ सालको जगदम्बाश्री लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भएका थिए ।






