काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि युक्रेनको स्थितिमा कटाक्ष गरेका छन्। सोमबार उनले युक्रेनको सन्दर्भमा विपक्षीहरूलाई जवाफ दिँदै ययुक्रेनको जस्तो हविगत हुनबाट बच्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा अमेरिकाको आप्रवासन समस्यामा ध्यान केन्द्रित गर्न भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टु«थ सोसलमा यस्तो लेखेका छन्, “हामीले पुटिनको बारेमा कम र आप्रवासी गिरोह, लागुपदार्थ माफिया, हत्यारा र मानसिक रोगीहरूबारे बढी चिन्ता गर्नुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस्।“
यो भनाइ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिकामा भएको महत्वपूर्ण बैठक असफल भएपछि आएको हो। सो बैठकको उद्देश्य युक्रेन र अमेरिका बीच खनिज स्रोतसँग सम्बन्धित सम्झौतामा छलफल गर्नु थियो। तर, ओभल अफिसमा ट्रम्पसँग झगडा भएपछि जेलेन्स्की युरोपमा समर्थन जुटाउनका लागि सिधैं लन्डन रवाना भएका थिए।
लन्डनमा भएको शिखर सम्मेलनमा यूरोपेली देशहरूले रुस–युक्रेन युद्ध रोक्नका लागि मिलेर योजना बनाउने कुरा तय गरे। बेलायती प्रधानमन्त्री किर स्टार्मरले यस योजना पछि ट्रम्पसमक्ष पेस गरिने बताए ।
यसै क्रममा, जेलेन्स्कीले युरोपको एकताको प्रशंसा गरेका छन्। उनले एक्समा यस्तो लेखेका थिए, “लन्डन सम्मेलन युक्रेन र हाम्रो साझा युरोपेली भविष्यको लागि महत्त्वपूर्ण थियो। हामीलाई युरोपबाट बलियो समर्थन मिलिरहेको छ, जसले हाम्रो सेना र नागरिकलाई मद्दत पुर्याउँछ।“ साथै, उनले युरोपको यो एकता लामो समयपछि देखिएको सुरक्षा सम्झौता र न्यायपूर्ण शान्तिका लागि अमेरिकासँग वार्ता भइरहेको पनि उनले बताए ।






