काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना मात्र हुने बताएका छन ।
माओवादीले थालेको हुलाकी राजमार्गकेन्द्रित अभियान अन्तर्गत महोत्तरीको जलेश्वर पुगेका माओवादी अध्यक्ष दाहालले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई मात्र जोगाउन बनेकाले यसबाट विकासको सपना देख्नु दिवा सपना मात्र हुने बताएका हुन् ।
जलेश्वर नगर प्रमुख सुरेश साह सोनारले महोत्तरीको भिठ्ठामोडमा सुख्खा बन्दरगाह निर्माणका लागि दिएको ज्ञापनपत्र बुझेपछि अध्यक्ष दाहालले बन्दरगाह निर्माण पनि सरकारले रोकेको आरोप लगाए । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकार भ्रष्टाचारीहरुलाई बचाउन र इमानदारलाई तह लगाउन लागेको आरोप लगाए ।
उपाध्यक्ष सापकोटाले देशलाई लोडसेडिङ मुक्त बनाएको र हमेशा देशको हितमा काम गर्ने नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले अनावश्यक दुःख दिएर फसाउन खोजेको दाबी गरे । अध्यक्ष दाहालसहितको टोलीले महोत्तरीका विभिन्न भागको विकास निर्माणको अवस्थाबारे अवलोकन गरेर सरोकारवाला निकायहरुसँग छलफल समेत गरेको छ ।






