काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएका हुन् ।
आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते विहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।






