काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ चितवनबाट सार्वजनिक गरेका छन् ।
चितवनमा आयोजित रास्वपाको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले लामिछानेलाई राज्यले विगत ५–७ वर्षदेखि लखेटिरहेको आरोप लगाए ।
उनका अनुसार रविको ‘अन्तिम इच्छा’ भनेको किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोक्दै रोजगारी सिर्जना गर्नु, दलीयकरण र भ्रष्टाचार अन्त्य गर्दै विधिको शासन स्थापना गर्नु हो ।
साथै, उनले देशलाई लुटेका भ्रष्टहरूलाई जेल हालेर कारबाही गर्ने लामिछानेको इच्छा रहेको बताए । भन्छन्, ‘देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दश दान र बैतर्नी गर्ने मन छ ।’
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले यसअघि लामिछानेलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने भन्दै १ करोड धरौटीमा रिहा गरेको थियो । उक्त निर्णयविरुद्ध परेको पुनरावेदनमा गम्भीर ध्यान दिँदै अनुसन्धानको निष्पक्षता र सशक्तताका लागि उनलाई शुक्रबार (हिजो) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्न आदेश दिएको थियो ।
सोही आदेश अनुसार सभापति लामिछानेलाई राति पौने ९ बजे पक्राउ गर्न प्रहरी उनकै निवास पुगेको थियो । लामिछानेलाई पक्राउ गर्न गएको प्रहरीले उनलाई तपाईँको अन्तिम इच्छा के छ? भनेर प्रश्न गरेका थिए । उक्त प्रश्नको सांसद ढकालले आज चितवनबाट यस्तो जवाफ फर्काएका हुन् ।






