काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले जडीबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको दाबी गरेका छन् । मंगलबार बल्खुमा आयोजित आमसभामा बोल्दै शाहीले चैत १५ गते राजधानीमा राजावादी समूहले गरेको भनिएको आगजनी घटनामा माओवादी कार्यकर्ताको संलग्नता पुष्टि भएको बताएका हुन् ।
“राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो– सरकारी सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,“ शाहीले भने ।
उनले चैत १५ तीनकुनेमा दुर्गा प्रसाईँको आह्वानमा गरिएको प्रदर्शनपछिका हिंसात्मक घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई झुटा आरोपमा पक्राउ गरिएको आरोप पनि लगाए । प्रहरीले ती घटनामा संलग्न रहेको भन्दै मिश्र र राणालाई नियन्त्रणमा लिएको हो ।
राजसंस्था पुनस्र्थापना, संघीयता खारेज लगायतका माग राख्दै राप्रपाले बल्खुमा आमसभा तथा प्रदर्शन गरेको छ । कार्यक्रममा शाहीले विभिन्न ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि दोहो¥याए ।






