काठमाडौँ : प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता भएको छ।
भेटमा नेपालको हित, विकासका प्राथमिकता र एडीबीले गर्दै आएको सहयोगबारे गम्भीर छलफल भएको छ। देशमा भएको ‘जेनजी’ आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै, अध्यक्ष कान्दाले नेपालको विकासमा एडीबीले निरन्तर साथ दिने प्रतिवद्धता सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सार्वजनिक गर्नुभएको थियो।
यसैबीच, अध्यक्ष कान्दाको नेपाल भ्रमणकै अवसरमा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर, अर्थात् झण्डै २५ अर्ब रुपैयाँ बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा सोमबार दुईवटा ठूला आयोजनामा लगानी गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गर्नुभएको छ। यो सहुलीयतपूर्ण ऋणलाई देशको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।






