काठमाडौँ : नेपाल र चीनबीच द्विपक्षीय व्यापार, आर्थिक साझेदारी तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा उक्त सहमति भएको हो।

भेटका क्रममा मन्त्री यादवले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक क्षेत्रमा अझ प्रभावकारी र दिगो बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालमा सिर्जना गरिएको लगानीमैत्री वातावरण, कानुनी सुधार र औद्योगिक विकासका प्रयासहरूबारे जानकारी गराउँदै उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

चिनियाँ वाणिज्य उपमन्त्री यान दोङले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन सदैव प्रतिबद्ध रहेको उल्लेख गरे। उनले तातोपानी र रसुवा नाकामा व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको बताए। उपमन्त्री दोङले नेपालका सम्भावित निर्यातयोग्य वस्तुहरू, विशेष गरी चिया र जडीबुटीको सम्भाव्यताबारे संयुक्त अध्ययन सञ्चालन गर्न सकिने धारणा समेत राखे।

नेपालको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) मा चीन अग्रणी रहेको स्मरण गराउँदै उपमन्त्री दोङले चिनियाँ लगानीकर्ताका लागि एकद्वार सेवा प्रणालीमार्फत थप सहज र पारदर्शी वातावरण सुनिश्चित गर्न सुझाव दिए। आगामी दिनमा दुवै देशका वाणिज्य मन्त्रालयबीच अझ घनिष्ठ समन्वय र सहकार्य रहने गरी दुवै पक्षबीच साझा समझदारी बनेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय