काठमाडौं :सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।
गत शुक्रबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि उनलाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आईसीयूमा उपचाररत मण्डलको आज बिहान २ बजेर ५ मिनेट जाँदा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।
पछिल्लो समय देशमा आत्मदाहका घटना शृङ्खलाबद्ध रूपमा बढिरहेका छन् । बिहीबार मात्रै त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार वीर अस्पतालमा निधन भएको थियो भने शनिबार पनि काठमाडौंको बुद्धनगरमा एक जनाले आत्मदाह गरेका थिए ।






