काठमाडौँःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका छन् ।
सर्वदलीय बैठकपछि लामिछाने कांग्रेस कार्यालय पुगेर दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार निधन भएका श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ, जहाँ कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । श्रेष्ठको आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ। ८३ वर्षीय श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेस सभापति गगन थापाले ७ साउनमा उनलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए ।






