काठमाडौँःसुनसरीलगायतका जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आठ राजनीतिक दलले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दलहरूले विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेका छन् ।

दलहरूले समस्या समाधानका लागि आवेग र उत्तेजनाभन्दा शान्तिपूर्ण संवाद र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय बढाउन सम्बन्धित पार्टीका स्थानीय समितिलाई निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाह नफैलाउन आम नागरिक तथा सञ्चारमाध्यमसँग अपिल गरिएको छ ।

साथै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दलहरूले व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय