काठमाडौँःदुई सातापछि बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ दुवै अनुपस्थित भएपछि सांसदहरूले उनीहरूको खोजी गरेका छन् ।
संसद् बैठक सुरु हुने समयमै प्रधानमन्त्री बालेनले सुरक्षा समिति बैठक बोलाएका थिए । तर संसदमा सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा सरकारको धारणा माग गर्दै विपक्षी र सत्तापक्षकै केही सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति प्रश्न उठाए । नेपाली कांग्रेसकी सांसद बासना थापाले हालै एक नेपाली युवाको मृत्यु भएको घटनामा सरकारको संवेदनशीलता कहाँ हरायो भन्दै प्रश्न गरिन् ।
उनले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै, ‘तपाईंले लगाएको कालो चस्माबाट मृत्यु र पीडाको रङ पनि फरक–फरक देखिन्छ र?’ भन्दै संकटका बेला नेतृत्वले राष्ट्रको मनोबल सम्हाल्नुपर्ने दायित्व रहेको बताइन् । थापाले समाज डर, तनाव र अविश्वासबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्रीको मौनता स्वयं सन्देश बन्ने भन्दै त्यसलाई तोड्न आग्रह गरिन् । उनले गृहमन्त्री सुधन गुरुङलाई पनि घटनाप्रति संवेदनशील हुन आग्रह गरिन् ।
यसैगरी नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाए । कांग्रेस सांसद रेखाकुमारी यादवले ‘यत्रो घटना हुँदा गृहमन्त्रीज्यू कहाँ हराउनुभयो?’ भन्दै सरकारसँग जवाफ मागिन् ।






